Trending

न्यायको पर्खाईमा द्वन्द्वपीडित

915Views
0 Shares

खोटाङ, १३ चैत

सशस्त्र द्वन्द्व कालमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका देवबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दिपक विष्टको हत्यामा संलग्न सुरक्षाकर्मीलाई कानुनी कारबाही नभएको पीडित परिवारले गुनासो गरेका छन् । चार जनालाई भवानी दल गुल्मबाट खटिएका संयुक्त सुरक्षा फौजले १५ भदौ २०६० मा घरबाट गिरफ्तार गरेर १७ भदौ २०६० मा सछितापोखरीको टुवाखोलाको जंगलमा पुर्‍याएर हत्या गरेकाे परिवारले बताउँदै आएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले भवानी दल गुल्मका संयुक्त सुरक्षाफौजका कमाण्डर सुवास केसी र प्रहरी नायव निरीक्षक मनिष मल्लसमेतबाट घट्नामा संलग्न अन्य व्यक्तिको समेत नाम खुलाउन लगाएर बुझ्नुपर्ने प्रमाण बुझेर प्रचलित कानुन बमोजिम ज्यान मुद्दातर्फ कारबाही गर्न र मृतकका आश्रित परिवारको भरणपोषणका लागि आयोगको क्षतिपूर्ति निर्धारण नियमावली २०५७ को नियम १७ बमोजिम हकवालालाई जनही तीन लाखका दरले उपलब्ध गराउन २८ असार २०६६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सिफारिस गरेको थियो ।

आयोगको १२ भदौ २०६५ को निर्णय अनुसार दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन सरकारसमक्ष सिफारिस गरिएको भए पनि हालसम्म दोषीमाथि कारबाही नभएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

निर्दोष व्यक्तिलाई गिरफ्तार गरेर हत्या गरेको भन्दै घटनाको निस्पक्ष छानबिनका लागि पीडितका पक्षबाट आयोगमा ९ पुस २०६० मा उजुरी परेको थियो । मृतक परिवारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सुरुमा एक/एक लाख, दोस्राे र तेस्राेपल्ट दुई/दुई लाख र चौथो पटकमा पाँच/पाँच लाख द्वन्द्व पीडितले पाउने राहत प्राप्त गरेको श्यामसुन्दरले बताए ।

‘मृतक परिवारले द्वन्द्व पीडित राहत पायौँ, तर न्याय पाएनौं,’ उनले भने, ‘दोषी सुरक्षाकर्मीमाथि कारबाही पनि भएन । २०७० सालतिर सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी पनि दिएका थियौँ ।’

मारिनेमा कैलाश र थीरबहादुर एकाघरमा दाजुभाइ हुन् । कैलाश स्थानीय बालोद्धय आधारभुत विद्यालयका शिक्षक थिए । उनी केही समय तत्कालिन नेकपा माओवादीमा हिँडेको स्थानीय बताउँछन् । थीरबहादुर भने एसएलसी दिएर बसिरहेका थिए ।

माछा मार्न खोलामा पुगेका साकेला गाउँपालिका–२ रतन्छाका ७ स्थानीयलाई नियन्त्रणमा लिएर गोली हान्ने दोषी सुरक्षाकर्मीमाथि पनि हालसम्म कारबाही भएको छैन । दोर्पा, बाँझेच्यानडाँडा र निर्मलीडाँडाको सिमानामा पर्ने लब्से दोभानमा माछा मारिरहेको अवस्थामा १४ वैसाख २०५९ मा नेपाली सेनाको गोलीबाट ज्यान गुमाएका रतन्छा पिनालाखाका ४० वर्षीय रामकुमार राई, ४३ वर्षका हंशराज राई, ३७ वर्षका राजेन्द्र राई, ३० वर्षका गोविन्द राई, १३ वर्षका रोशन राई, ३९ वर्षका नबिनचन्द्र राई र २५ वर्षका मनकुमार राईका परिवार दोषीलाई कारबाही नहुँदा आक्रोशित छन् । आफन्त गुमाएपछि दोषीलाई कारबाही भएको खबर सुन्न पाउने आशामा दुई दशक वित्न लागेको मृतक रामकुमारकी श्रीमती सन्देशकुमारी राईले गुनासो गरिन् ।

मृतक परिवारको हातमा पटक–पटक गरी १०/१० लाखबाहेक न्यायको नाममा केही पर्न सकेको छैन । दोषी भनिएका सुरक्षाकर्मीलाई कारबाही नहुँदा पीडित परिवारले झन् पीडाको महसुस गरिरहेका छन् ।

दुई सुरक्षाकर्मीलाई कैद 

सुतिरहेकाबेला जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका शिक्षक हरिकुमार भट्टराई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी वैरेनीटारका दुर्गाप्रसाद कोईराला र डाकमणी कोईरालालाई गिरफ्तार गरी २० मंसिर २०६० मा डम्बर्खुशिवालयको काभ्रे खोलामा हत्या गर्नमा संलग्न सैनिक हस्तबहादुर कुमाल र तेजबहादुर रोईलालाई भने सैनिक अदालतकाे फैसलाअनुसार दुई/दुई वर्ष कैद भएको आयोगको शाखा कार्यालय प्रमुख काफ्लेले बताए । कोइरालाद्वय भट्टराईको घरमा पाहुनाका रुपमा पुगेका थिए । ‘अन्य दोषी सुरक्षाकर्मीलाई कारबाही भएको आयोगलाई जानकारी छैन,’ काफ्लेले भने, ‘कारबाहीको जानकारी नभएसम्म हामीले कारबाही नभएकै मान्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय