वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा २५औँ पर्सा दिवस समारोह–२०८३ को अवसरमा सम्मानित भएकी छन्।
पर्सा मिलन केन्द्रले स्वास्थ्य सेवाप्रतिको उनको समर्पण, सेवा भावना र योगदानको कदर गर्दै सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा.डा. पृथ्वीराज लिगल र पर्सा मिलन केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गोविन्दप्रसाद नेपालले डा. थापालाई सम्मानपत्र प्रदान गरेका थिए।
वीरगञ्जमा रहेर लामो समयदेखि चिकित्सा सेवामा सक्रिय डा. थापासँग स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा २२ वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले काठमाडौंस्थित प्रसूति गृह, पाटन अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा समेत सेवा प्रदान गरिसकेकी छन्। हाल उनी वीरगञ्जस्थित प्रभु अस्पतालमा पूर्णकालीन परामर्शदाता स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा कार्यरत छन्।
चिकित्सा सेवासँगै सामाजिक सेवा र महिला सशक्तीकरणका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ। उनी लायन्स क्लबकी रिजन चेयरपर्सन हुनुका साथै वीरगञ्ज उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमशीलता विकास समितिकी संयोजकसमेत हुन्।
चिकित्सा सेवा, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा महिला सशक्तीकरणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको पर्सा मिलन केन्द्रले जनाएको छ।
२५औँ पर्सा दिवस समारोहमा विभिन्न सात विधामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा मुखदेवप्रसाद साह कानु, कला, साहित्य तथा संस्कृतिमा अशोक प्रधान, उद्योग तथा व्यवसायमा गोपाल केडिया, स्वास्थ्य क्षेत्रमा डा. लक्ष्मी थापा, खेलकुदमा आफताव आलम, सामाजिक क्षेत्रमा राजकृष्ण अमात्य तथा सञ्चार, विज्ञान तथा प्रविधिमा निरञ्जन मिश्र सम्मानित भएका थिए।
पर्सा जिल्लाको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा व्यावसायिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको पर्सा दिवस समारोहले समाजमा सकारात्मक परिवर्तन र योगदानका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।












