ट्राफिक प्रहरी कार्यालय द्वारा ट्राफिक सप्ताहको सभ्य तथा भव्य शुभारम्भ
By Sulav Rijal
९ मिनेट अगाडि
Comments: 0
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा ट्राफिक सप्ताहको सभ्य तथा भव्य शुभारम्भ गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य सडक अनुशासन, सभ्यता तथा सुरक्षाको प्रवर्द्धन गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर थापाले रिबन काटेर ट्राफिक सप्ताह अन्तर्गत आयोजित सचेतनामूलक र्यालीको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले “जान नै जहान हो” भन्ने मूल मन्त्रलाई आत्मसात गरी सवारी चालक तथा नागरिकहरूले ट्राफिक नियमको पूर्ण पालना गरेमा सडक दुर्घटनाको संख्या उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो। साथै, उहाँले सबैलाई जिम्मेवार नागरिकका रूपमा ट्राफिक नियम पालन गर्न आग्रह गर्नुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालको अध्यक्षतामा आयोजित जनचेतनामूलक र्यालीमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी, अग्रज महिला, युवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीका क्रममा सहभागीहरूले “सुरक्षित स्थानबाट मात्र ओभरटेक गरौँ”, “ट्राफिक नियमको पालना गरौँ” तथा “जिम्मेवार चालक बनौँ” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाएका थिए।
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालले मानव जीवनभन्दा महत्वपूर्ण केही नभएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गरेर आफू मात्र होइन, अरूको जीवन पनि सुरक्षित राख्न सकिने बताउनुभयो। उहाँले ट्राफिक सप्ताह सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्दै सडक सुरक्षा अभियानमा निरन्तर साथ दिन आग्रह गर्नुभयो।
कटुवालले ट्राफिक सप्ताहमार्फत पर्सा जिल्लामा सडक सुरक्षाप्रति जनचेतना वृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको बताउँदै त्यसको सफलताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमको समापन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बस्नेतले धन्यवाद ज्ञापनसहित गर्नुभयो। समापन मन्तव्यका क्रममा उहाँले “अनुशासन, सभ्यता र सुरक्षा” यी तीन मूल मन्त्रलाई नागरिकहरूले व्यवहारमा उतारेमा सडक दुर्घटनाको संख्या झण्डै ९५ प्रतिशतसम्म घटाउन सकिने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले सबैलाई ट्राफिक नियमको कडाइका साथ पालना गर्न आग्रह गर्नुभयो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि