काठमाडौं, १८ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको छ ।
विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाह गर्दै आएको हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा पनि सुरू गरेको हो ।
हालसम्म हस्पिटलले दुई जना विरामीमा मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ । मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए ।
आज अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी दिइएको जानकारी अनुसार अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टीमले मिर्गौला प्रत्यारोपण गरेका हुन् । आगामी दिनमा यो सेवालाई विस्तार गर्दै लगिने जानकारी सीईओ मिश्रले जानकारी दिए ।
‘सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका दुई वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्यालगायत जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ,’ हस्पिटलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरू भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने सीईओ मिश्रको भनाइ छ ।
साथै, नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति लिने प्रक्रिया अगाडि बढाइसकिएको अस्पिटलको भनाइ छ ।
नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो ।












