Image

 उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

काठमाण्डाै पुष ३

२०७० सालअघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो ।

महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन ।

यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय लिनेभन्ने समस्याले सताउँथ्यो’, भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सोनहाले भने, ‘बाढीले कटान गर्ने ठाउँमा अहिले छ लेनको सडक बनेको छ, सेल्फी खिच्न आउनेको यहाँ घुइँचो लाग्छ ।’

महाकाली नदीमा अर्बौंको लगानीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको सुक्खाबन्दरगाह प्रस्तावस्थलसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँ बाढीको त्रासदी हटेको छ ।’बाढीले बगाउँछ भने यहाँ जग्गा किन्न कोही पनि आउँदैनथे, अहिले जग्गाको मूल्य अकासीएको छ’, भुजेलाका रामसिंह सुनारले भने, ‘अहिले जग्गाको मूल्य महेन्द्रनगर बजारको हाराहारी छ ।’

बाढीका बेला सुरक्षा निकायले उद्धार गरेर नजिकैको स्कुलमा हप्तौ बसेको विगत सुनाउँदै सुनारले सो क्षेत्रको विकासले यहाँको स्थानीयको अवस्थामा पनि व्यापक सुधार आउने बताए । ‘दिनहुजसो यहाँ जग्गा खरिदका लागि आउँछन्’, उनले भने, ‘उहिलेको र अहिलेको भुजेलामा धेरै अन्तर भइसकेको छ ।’

विसं २०७० सम्म वर्षात्का बेला महाकाली उर्लिंदा मुलुककै ध्यान तान्ने गरेको विपत्को स्थिति गुजारेको तटीय क्षेत्रमा अहिले दिनहुँजसो भाइरल रोड र पक्की पुलमा फोटो खिच्न आउनेको घुइँचो नै लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।

गड्डाचौकीदेखि दक्षिणतर्फ महाकाली नदीमा निर्माण भएको पुलसम्मको पहुँच मार्ग निर्माणले यहाँका धेरै बस्ती बाढीको जोखिमबाट मुक्त भएका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले यहाँ सडकमा समान्य क्षति पुर्‍याए पनि बाढी बस्तीमा पस्नबाट सडक नै सहयोगी बनेको स्थानीयवासीको भनाइ छ ।

सो समयमा पोखरी निर्माणका लागि ढुङ्गाको व्यवस्थापन नहुँदा बाँध निर्माण सुरु भइसकेको थिएन । बाँध नहुँदा नै पहुँच मार्गमा क्षति पुगेको निर्माण कम्पनीले जनाएको छ ।

विगतमा भुजेलादेखि पिपरियासम्मको तटीय क्षेत्रमा महाकाली नदीमा जनताको तटबन्ध कार्यालय तटबन्ध निर्माण गरी बस्ती जोगाउन सक्रिय थियो । ‘तटबन्ध नहुँदा विगतमा स्थानीयका घरदेखि विद्यालयसम्म बगे ।’ भुजेलाकै मानवीर भट्टले भने, ‘वर्षात्मा त स्थानीय प्रशासनको ध्यान यहाँकै जनता र बस्ती कसरी जोगाउने भन्नेमा हुन्थ्यो ।’

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले गड्डाचौकीदेखि निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिए । आठ दशमलव छ किलोमिटर कालोपत्रमध्ये छ किलोमिटर सडक निर्माण भइसकेको उनले बताए । पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको इञ्जिनीयर पाण्डेयको भनाइ छ ।

‘पुलको दुवैतर्फ (उत्तर र दक्षिण) बाँध बाधेर आँखा आकारका पोखरी निर्माण पुलकै प्याकेजभित्र छ’, उनले भने, ‘पोखरीका लागि बाँध बाध्ने काम विगत एक महिनायता जारी छ ।” इञ्जिनीयर पाण्डेयले पोखरी निर्माण सकिए यहाँका पालिकाको आयस्रोतसमेत बढ्ने बताए ।

‘पोखरीको बीचमा तीन÷तीन वटा टापु बन्ने छन्, त्यहाँ ढुङ्गा चढेर आउन जान सकिनेछ’, इञ्जिनीयर पाण्डेयले भने, ‘पोखरीमा माछापालनदेखि ढुङ्गा सञ्चालन गरेर यहाँका पालिकाले पर्यटकलाई लोभ्याउन सक्छन् ।’ रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी वर्षभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार वटा पोखरी निर्माण हुँदैछन् । त्यसैगरी पक्की पुलबाट करिब अढाइ किलोमिटरको दूरीमा दक्षिण एशियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल रहेको छ ।

यहाँ हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुलसम्मको सडक कालोपत्र गर्नसके स्थानीयका साथै पर्यटकलाई आवतजावत गर्न सहज हुने बताउँछन् । उनले भने, ‘यति सडक मात्रै बनाउनसके यहाँ पर्यटकीय गतिविधि बढ्छ ।’

लामो समय महाकाली तटीय क्षेत्रका नागरिकले कष्ट व्यहोरे पनि पुल बनेसँगै आर्थिक गतिविधि बढिरहेको बोहराले बताए । ‘सुक्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने एजेण्डाले जग्गाको कारोबार नै आकासिएको छ’, उनले भने, ‘सुक्खा बन्दरगाहदेखि नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास भए सुदूरपश्चिमकै कायापलट हुनेछ ।’

पक्की पुल पारी दोधाराचाँदनी नगरपालिका–१ मा दुईवटा सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरेर प्रक्रिया अघि बढाइएको छ । यसैगरी पहुँच मार्गलाई गड्डाचौकीबाट उत्तरतर्फको ब्रह्मदेवसम्म विस्तार गरेर त्यहाँबाट जोगबुढा हुँदै दार्चुलासम्मको महाकाली करिडोरलाई जोड्ने योजना छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *