Image

डा.नारायण खड्का : चौथो जितको लागि गठबन्धनको साथ

काठमाडौं, ३० कात्तिक

हाल परराष्ट्र मन्त्री रहेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्का यसपटक उदयपुर-१ बाट चौथो पटक प्रतिनिधिसभामा पुग्ने प्रयासमा छन् । उनलाई रोक्न नेकपा (एमाले)की नेतृ मञ्जुकुमारी चौधरी मैदानमा छिन् ।पूर्वशहरी विकास राज्यमन्त्री चौधरी डा. खड्काको पुरानै प्रतिस्पर्धी हुन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

भोजपुरमा जन्मिएका ६३ वर्षीय डा. खड्का हाल उदयपुरको त्रियुगा नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । २०५६ सालको आमनिर्वाचनमा उदयपुर–१ मा एमालेका उम्मेदवारसँग पराजित भएका खड्का त्यसयता २०६४, २०७० र २०७४ सालमा निरन्तर विजयी भए ।

२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)का आर्थिक सल्लाहकार रहेका उनी २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भए । उनले भारतको पुने विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

२०५९ मा किसुनजीको समर्थनमा शेरबहादुर देउवाले नेपाली कांग्रेस विभाजन गरेर प्रजातान्त्रिक कांग्रेस गठन गर्दा डा. खड्का देउवातिर लागे । त्यसको पाँच वर्षपछि कांग्रेस एकीकृत भएपछिको १२औं महाधिवेशनबाट उनी पहिलोपटक केन्द्रीय सदस्य चुनिए ।

सुरुदेखि नै किसुनजीको समूहमा रहेका डा. खड्का केन्द्रीय सदस्य भएपछि सुशील कोइरालासँग नजिक भए । २०७० मा कोइरालाको क्याबिनेटमा उनले शहरी विकास मन्त्रीको जिम्मेवारी पाए । २०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनबाट उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भए ।

एमालेको पकड क्षेत्रको रूपमा रहेको उदयपुर–१ मा कांग्रेसका डा. खड्काले २०६४ र २०७० का दुवै संविधानसभा निर्वाचन जिते । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ को प्रतिनिधिसभासम्मको निर्वाचनमा पनि बाजी मारे ।

२०७० सालसम्म उदयपुरमा ३ निर्वाचन क्षेत्र थियो । २०७० को संविधानसभा निर्वाचनमा डा. खड्का साविक उदयपुर–१ र मञ्जुकुमारी चौधरी उदयपुर–२ बाट विजयी भएका थिए । दुई मात्र निर्वाचन क्षेत्र भएपछि २०७४ मा खड्काले एमालेकी चौधरीलाई उदयपुर–१ मा पराजित गरे ।

त्यसबेला खड्काले वाम गठबन्धनकी उम्मेदवार चौधरीलाई ५४८ मतान्तरले पराजित गरेका थिए । खड्काले ३३ हजार १४२ र चौधरीले ३२ हजार ५९४ मत पाएकी थिइन् । त्यसबेला चौधरीलाई सघाएको माओवादी केन्द्र यो पटक खड्कालाई जिताउन लागिपरेको छ ।

स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतको आधारमा पनि उदयपुर–१ मा सत्ता गठबन्धन बलियो छ । पाँचदलीय गठबन्धनसँग कुल ४२ हजार २७३ र एमालेसँग २७ हजार ७९७ मत छ । पछिल्लो स्थानीय चुनावको यो अंकगणित डा. खड्काका लागि अनुकूल देखिन्छ । तर निर्वाचन हो, हार वा जित यसैको हुन्छ भन्न सकिन्न ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *