• Home
  • ताजा समाचार
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान : पीडित राहतको पर्खाइमा
Image

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान : पीडित राहतको पर्खाइमा

काठमाण्डौ – वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ बाढी र डुबानमा परेका छन् ।

एक हप्तासम्म परेको पानीले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । लुम्बिनीको नवलपरासी, दाङ, बाँके, बर्दियामा धेरै नागरिक विस्थापित भएका छन् ।

बाढी र डुबानको समस्यामा परेका नागरिकले आफूहरुको समस्यामा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

नागरिक समाज दाङले बाढी र डुबानबाट बिचल्लीमा परेका पीडितको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

बाढी घर खेतमा पसेको हप्तादिन भैसक्दा पनि पालिकाले अहिलेसम्म लगत सङ्कलन गर्न नसकेको, प्रभावितलाई उद्धार र राहतमा सहयोग नगरेको नागरिक समाजले जनाएको छ । दाङको देउखुरीमा मात्रै १० हजारभन्दा धेरै नागरिक प्रभावित भएको अनुमान छ ।

असोजको १९, २० र २१ गतेको वर्षापछि आएको बाढीले लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा क्षति गरेको थियो । राहत, उद्धारका काम भएका र विस्थापितलाई सुरक्षित ठाउँमा राख्ने काम भएको पालिकाको दाबी छ ।

उद्धारपछिको राहत वितरणमा स्रोत अभाव हुँदा तत्काल वितरण गर्न समस्या भएको पालिकाका प्रमुखले गुनासो गरेका छन् । 

नेपाली सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – २० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका झण्डै ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा लगेको जनाएको छ । 

बर्दियाको राजापुर नगरपालिकाका झण्डै ८ सय घर डुबानमा परेका छन् । लगातारजसो परेको पानीले कर्णाली नदीमा बाढी आएपछि राजापुरका केही गाउँ डुबानमा परेका हुन् ।

राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका लोकराज ढुंगानाले बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार र राहतमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

कर्णाली प्रदेशमा बाढी/पहिरोले जनधनको धेरै क्षति गरेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार कर्णालीमा ३४ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै जुम्लामा १० जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीन, डोल्पा र सल्यानमा दुई/दुई र दैलेखमा एक जनाको ज्यान गएको छ ।

बेपत्ता रहेका २२ जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटमा रहेका छन् ।

तीलागुफा नगरपालिका – ४ मा मलामी गएका वडाअध्यक्षसहित १३ जना, एक प्रहरी जवान र अरु ६ जनासहित २० जना बेपत्ता छन् ।

कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रदेश सरकारले घर क्षति र विस्थापितका लागि राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जनाएको छ ।

घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जोड दिनुभएको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि बाढीले धेरै क्षति गरेको छ । धानबालीमा पारेको क्षतिबारे विवरण सङकलन सुरु गरेको प्रभावित क्षेत्रका कृषि शाखाले जनाएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन वटै प्रदेशका कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । कर्णाली राजमार्ग खुलाउन झण्डै दुई हप्ता लाग्न सक्ने सडक डिभिजन कार्यालयको अनुमान छ । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *