सर्लाही । पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको सीतामढी जिल्ला, थाना बेला पिपरा, ग्राम मुझैलियाका ईजरायल अन्सारी हुन्। उनी पोकामा गाँजा राखी भारततर्फ लैजाँदै गर्दा प्रहरीको निगरानीमा परेका हुन्।
ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा गरिएको सक्रिय निगरानीका कारण छोटो समयमा चोरीमा संलग्न तीन जना व्यक्तिहरू पनि पक्राउ परेका छन्। साथै, करिब २ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान भन्सारमा बुझाइएको छ।
स्थानीयवासीले इन्चार्ज क्षेत्रीको कडा निगरानी र जिम्मेवार कार्यशैलीका कारण चोरी र तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको बताएका छन्। “अब हामी सचमुच सुरक्षित महसुस गर्छौं। क्षेत्री जस्ता इन्चार्ज आएपछि अपराधीहरू पनि डराउन थालेका छन्,” एक स्थानीयवासीले भने।
संग्रामपुरमा भएको यो पक्राउ र निरन्तर निगरानीले स्थानीय सुरक्षामा नयाँ भरोसा र विश्वास जगाएको जनाइएको छ।












