• Home
  • ताजा समाचार
  • अपाङ्गता भएका मतदाता भन्छन् : ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’
Image

अपाङ्गता भएका मतदाता भन्छन् : ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

तनहुँको व्यास नगरपालिका–१० का कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । चुनावमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ । 

‘मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ’, उहाँले भन्नुभयो, ‘चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ।’

मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उहाँको अनुभव छ। ‘छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो ठाउँमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ’, उहाँले भन्नुभयो ।

मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहनुभएकी उहाँले भन्नुभयो, ‘हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।’

प्रायजसाे मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उहाँको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । ‘प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिँदैन’, आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।’ 

पालिका चुनावमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उहाँले आफूहरू त्यस्तो नचाहने बताउनुभयो । ‘हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला’, उहाँले भन्नुभयो, ‘मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।’

मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो । 

चुनाव कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । ‘मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ’, ढकालले भन्नुभयो । 

जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *