2078/09/11 – बिरगंज
बिरगंज स्थित बिरगंज नर्सिङ् क्याम्पसमा B.Sc Nursing दोस्रो बर्षमा अध्ययनरत छात्राहरुले आयोजना गरेको वातावरण सरसफाई सम्बन्धी सचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले घर र वातावरण सफा राखेमा धेरै रोग तथा महामारीबाट बच्न सकिने बताएका छन् ।
वीरगञ्ज नर्सिङ् क्याम्पसकी प्रमुख सूर्या कोईरालाको सभापतित्वमा सम्पन्न सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले स्वास्थय सबैभन्दा पहिलो प्राथमिकताको विषय भएको बताए । शिक्षा र स्वास्थ्य भन्दा ठूलो र प्राथमिकताको विषय हुन नसक्ने दावी गर्दै सरसफाई गर्नु अरुको लागि नभई आफ्नै लागि भएको चौगाईको भनाई रहेको थियो ।
वडा सदस्य नुर आलम मियाँले वडा कार्यालयले र जनप्रतिनीधिले गर्नुपर्ने काम विद्यार्थीहरुले गरेकामा आभार व्यक्त गर्दै नागरिकलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने बताए । वडा सचिव मायालाल रोकायले सफा भएपछि त्यसको प्रभाव पनि दिगो हुने विश्वास व्यक्त गरेका थिए ।
सय जना भन्दा पनी बढी को सहभागिता रहेका ति कार्यक्रममा नर्सिङ् क्याम्पसमै अध्ययनरत सलमा बेगमले सन्देशमुलक कवितामार्फत सरसफाईमा ध्यान दिन सहभागीहरुलाई आग्रह गरेका थिइन् । BNS दोस्रो वर्षमा अध्ययनरत मुना श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा वर्षाैसम्म पनि सरसफाई सम्बन्धी सामान्य ज्ञानसमेत नभएका टोलवासीलाई ५ हप्तामा बुझाउन र सिकाउन सफल भएको बताईन् । ५ हप्तामा १ सय ९० घरधुरीका बासिन्दालाई बुझाउन सके जस्तै हरेक सचेत नागरिकले आफ्नो टोलका नागरिकलाई सचेत बनाउन सकेमा सरसफाईमा सकारात्मक परिवर्तन हुने श्रेष्ठको भनाइ रहेको थियो ।
वीरगञ्ज महानगरपालिका, वडा कार्यालय छपकैया १, नगर स्वास्थ्य चौकी र वीरगञ्ज युवा समाजको सहयोगमा समपन्न कार्यक्रमको सहजिकरण BNS दोस्रो वर्षमा अध्ययरत सुजिता मिश्रले गरेकी थिइन् ।
अध्ययनको पाठ्यक्रमअनुसार वीरगञ्जको छपकैयाका १ सय ९० घरमा घरदैलो कार्यक्रममार्फत बाल स्वास्थ्य, मातृ शिशु स्वास्थयसहित व्यक्तिगत एवम् वातावरणीय स्वास्थ्यको बारेमा सचेतना फैलाएको विद्यार्थी सालमा बेगम बताइन् ।




















