काठमाडौं । फागुन २९ गते
आजदेखि सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित गर्दै घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेको हो ।कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रस्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए ।
कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
















